१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


श्रीलंकामा नेपालका शीर्ष वरीयताका साइकल राइडर महर्जनको मृत्यु


0
Shares

काठमाडौं, जेठ ३१ । नेपालका शीर्ष वरीयताका साइक्लिङ खेलाडी नारायणगोपाल महर्जनको श्रीलंकामा एउटा प्रतियोगिताकाक्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।

विश्वकै कठिनमध्येको एक मानिने ‘रम्बल इन द जंगल’ नामको उक्त ‘माउन्टेनबाइक रेस’मा सहभागी भएका महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

श्रीलंकाको राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको महावेली नदीमा खसेर ३३ वर्षीय महर्जनको मृत्यु भएको श्रीलंकाली प्रहरीले जनाएको छ । उनको शव नजिकैको क्यान्डी जेनेरल हस्पिटलमा राखिएको छ ।

काठमाडौंस्थित महर्जनको परिवारको स्वीकृति लिएर शुक्रबार (भोलि) शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ । त्यसपछिमात्रै शव नेपाल ल्याउन सकिनेछ ।

३९ प्रतियोगी सहभागी उक्त साइक्लिङ प्रतियोगिताको एक स्टेजमात्रै बाँकी छँदा महर्जन बुधबार दुर्घटनामा परेका हुन् । जारी प्रतियोगितामा महर्जनसहितको नेपाली टोली अग्रस्थानमा रहेको थियो ।

महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएको छ ।

नेपालमा ‘याक अट्याक साइकल रेस’ आयोजना गदै आएको बेलायती समूहको सहयोगमा श्रीलंकाली एअरलाइन्सले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

महर्जन नेपालका शीर्ष वरीयताका साइकल राइडर हुन् । उनी आगामी भदौमा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि बन्दसत्रमा रहेर प्रशिक्षण गरिरहेका थिए ।