१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


प्रधानमन्त्रीको डायलाइसिस !


0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ ।

प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ ।

उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो ।

प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने । -कान्तिपुर दैनिकबाट