१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट • Image Khabar Image Khabar


१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट


Imagekhabar
१० कार्तिक २०७६, आईतवार ०६:३०

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन् । 

महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।

कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो ।

महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ । 

विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

कांग्रेस नेता शेखर कोइरालाका अनुसार उपनिर्वाचनका विषयमा छलफल गर्ने एजेन्डा राखेर बैठक बोलाइएको थियो तर आकस्मिक रूपमा विभागको संख्या थप्ने प्रस्ताव ल्याइएको उनले बताए ।

बैठकको अघिल्लो दिन देउवा निवास बूढानीलकण्ठमै बसेको पदाधिकारी बैठकमा एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि पार्टीले तोक्ने उम्मेदवारका विषयमा छलफल भएको थियो ।

उम्मेदवार तय गर्ने आधिकारिक निकाय संसदीय समिति हो । एक वर्षअघि विघटन भएको समिति पुनः गठन नभएका कारण केन्द्रीय कार्यसमितिबाट पदाधिकारीमा अधिकार प्रत्यायोजित गरेर उम्मेदवार तय गर्ने निधो भएको थियो ।

त्यहीअनुसार निर्णय गर्न केन्द्रीय बैठक बोलाइएको थियो । एकाएक विभाग बढाउने प्रस्ताव आएपछि बैठक बस्नै सकेन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्