
काठमाडौं, कात्तिक ८ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा बिहीबार आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि भएको दमनको चिकित्सा शिक्षा संघर्ष समितिले भर्त्सना गरेको छ ।
समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलन गर्दा कलेज सन्चालकले विद्यार्थीमाथि आक्रमण गरेको भन्दै घटनाको छानबिन गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अमानवीय व्यवहार भयो’
संघर्ष समितिका प्रवक्ता नरेश भट्टले ‘शुल्क फिर्ता गर’ भनेर आन्दोलन सुरु गर्दा माइक तोडफोड गरिदिने, व्यानर च्यात्ने र कुटपिटमा उत्रिनेजस्तो अमानवीय व्यवहार भएको बताए ।
विद्यार्थीहरुलाई मध्यराति धम्काउने र हातपातसम्म गरिएको र त्यसविरुद्ध प्रशासनमा उजुरी दिँदा बेवास्ता गरिएको पनि उनले बताए ।
कारबाहीको माग र चेतावनी
कार्यक्रममा संघर्ष समितिका संयोजक प्रकाश चन्दले नेसनल मेडिकल कलेजका सन्चालक बसुरुद्दिन अन्सारीलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे ।
सरकारले कारबाही नगरे आफूलाई कानुनभन्दा माथि ठान्ने ‘माफिया’हरुको घमन्ड सडकबाट तोड्ने चेतावनी पनि उनले दिए ।
परीक्षा सार्न माग
सो कलेजका विद्यार्थीहरुले आन्दोलनका कारण आफूहरुको पढाइमासमेत बाधा पुगेको भन्दै एमबीबीएस प्रथम र दोस्रो वर्षको अन्तिम परीक्षा पछि सार्नसमेत माग गरेका छन् ।
बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेज, गन्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेजमा विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्