
काठमाडौं । तेजाब आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन् । उनले अपराधीलाई फाँसीको सजायँ हुनुपर्ने संकेत गरेकी छन् ।
कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले चिठीमा भनेकी छन्, ‘‘प्रधानमन्त्री ज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’
कक्षा ९ मा अध्ययनरत मुस्कानले उक्त चिठी लेखेर फेसबुकमा राखेकी हुन् ।
मुस्कानले यसअघि जेनी खड्का, संगीता मगर लगायतमाथि तेजाब आक्रमण गर्नेहरूलाई बेलैमा सरकारले कडा सजायँ दिएको भए त्यस्तो घटना फेरि नदोहोरिने बताइन् ।
उनी डेढ महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी छन् । उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो। उनको स्वास्थ्य सुधार हुँदै आएको छ ।
वीरगन्ज– ३, छपकैयाकी मुस्कानलाई गत भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केही केटाले तेजाब प्रहार गरेका थिए ।
तेजाब हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्ने शमसाद मिया र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन् । शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा तेजाब हानेको बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्