
अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, कात्तिक ७ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकताको हल्ला चलेको लामो समय भइसकेको छ । तर, अहिलेसम्म एकताको ठोस आधार तयार हुन सकेको छैन ।
तरपनि दुवै पार्टीका नेताहरु छिट्टै पार्टी एकता हुनेमा आशावादी देखिन्छन् ।
वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको हल्ला चलेको महिनौं बित्दा पनि एकताको आधार तय हुनसकेको छैन ।
एकताका लागि समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ र राजपाका तर्फबाट राजेन्द्र महतो नेतृत्वको वार्ता टोली गठन भएको थियो । तर, उक्त वार्ता टोलीले पनि एकताको आधार तय गर्न सकेको छैन ।
त्यसो त एकताका लागि दुई पार्टीबीच अहिलेसम्म औपचारिक छलफल नै नभएको नेताहरु बताउँछन् ।
अनौपचारिक छलफलमा एक किसिमको सहमति भएपछिमात्रै औपचारिक वार्ता प्रक्रिया सुरु हुने उनीहरुको भनाइ छ ।
दुई पार्टीबीच एकता हुने निश्चित नभएपनि एकताका लागि वार्ता टोली र शीर्ष नेताहरुबीच निरन्तर अनौपचारिक छलफल भने भइरहेको छ ।
अनौपचारिक छलफलमा दुई पार्टीबीच सैद्धान्तिक र नेतृत्व व्यवस्थापनको विषयमा खासै समस्या नरहेको दुवै दलका नेताहरुको जिकिर छ ।
तर, समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य शिवजी यादवले राजपाभित्रकै समस्याले एकताको विषयले मूर्तरुप लिन नसकेको बताए ।
हुन त राजपा र समाजवादी पार्टी मिलेर प्रदेश नम्बर–२ मा सरकार चलाइरहेका छन् । केन्द्रमा भने समाजवादी पार्टी सरकारमा छ भने राजपा प्रतिपक्षमा छ ।
दुई पार्टीबीच एकता प्रक्रियामा समाजवादी पार्टीले सरकार छोड्ने कि नछोड्ने विषय पनि मुख्य विषय बनेको छ । एकताका लागि समाजवादी पार्टीले तत्काल सरकार छोड्नुपर्ने राजपाको शर्त छ ।
राजपाका महासचिव केशव झाले सैद्धान्तिक र नेतृत्व व्यवस्थापनको विषयमा सहमतिनजिक रहेपनि सरकारको विषय नै एकताको समस्याकोरुपमा रहेको जिकिर गरे ।
एकताको विषयमा राजपाभित्रै पनि मतभेद छ । अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोलगायतका नेताहरु पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । उनीहरुले एकताका लागि त्यहीअनुरुपको सक्रियता पनि देखाएका छन् ।
तर, अध्यक्षमन्डलका सदस्यद्वय अनिल झा र राजकिशोर यादव राजपाको आसन्न महाधिवेशनपछिमात्रै समाजवादी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा छन् ।
तर, राजपाका महासचिव झाले समाजवादी पार्टीसँग एकता गर्ने विषयमा पार्टीले संस्थागत निर्णय गरिसकेकाले कुनै नेताको व्यक्तिगत धारणले एकता प्रक्रियामा असर नपर्ने जिकिर गरे ।
एकताको चर्चा धेरै भएपनि औपचारिकरुपले अझै गहन छलफल हुन नसक्दा समाजवादी पार्टी र राजपाबीच तत्काल पार्टी एकता हुने सम्भावना भने कमै देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्