२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


तारकेश्वरमा विद्यालयको बरन्डा भत्कँदा ३६ विद्यार्थी घाइते


0
Shares

काठमाडौं, कात्तिक ६ । काठमाडौंको तारकेश्वर नगरपालिका–३, जीतपुरमा विद्यालयको बरन्डा भत्कँदा ३६ विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेन्डरी स्कुलको पहिलो तल्लामा रहेको बरन्डा भत्कँदा सोही विद्यालयका ३६ विद्यार्थी घाइते भएका हुन् ।

घाइते विद्यार्थीको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारका प्रमुख, प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एक तलामाथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा ९ वर्षीया सुमिका लामा र १० वर्षीय सन्जु थिङ गम्भीर घाइते भएका छन् । लामाको टाउकोमा र थिङको च्युँडोमा चोटपटक लागेको अधिकारीले बताए ।

विद्यालयका प्रधानाध्यापक दीपक धितालले बरन्डामा बसेर खेलकुद प्रतियोगिता हेरिरहेको अवस्थामा भत्किएर दुर्घटना भएको जानकारी दिए ।

घाइते हुनेमा कक्षा–३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्रधानाध्यापक धितालले बताए ।

गम्भीर चोट लागेर अस्पताल भर्ना हुने घाइतेको संख्या बढ्दो रहेको प्रहरीले जनाएको छ । रासस