२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैतडीमा गाउँलेमाथि डोजर चलाइयो, ८ जना घाइते, चालकसहित ४ पक्राउ


0
Shares

बैतडी । सडक निर्माणका बिषयमा बैतडीमा विवाद हुँदा डोजर चालकले स्थानीयमाथि नै डोजर चलाउँदा आठ जना घाइते भएका छन् ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा स्थानीय ३५ बर्षीया गौरी जोशी रहेका छन् ।

उनको बैतडीमा उपचार हुन नसक्दा कोहलपुर रेफर गरिएको छ । यस्तै अन्य घाइतेहरुमा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी छन् ।

गौरा डोजरकै आक्रमणवाट घाइते भएकी र अरु आपसी बिवादमा घाइते भएका जनाइएको छ । सडक निर्माणका बिषयमा दुई पक्षबीच कुरा नमिल्दा झडप समेत भएको हो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए ।

उनले भने, ‘सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमिन पर्ने र यो बिषयमा सबै गाउँलेसंग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको हो ।’ तर निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन् ।

सडकका बिषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिती आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए । उनले भने, ‘आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिती आएको हो ।’

तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासी आएर डोजरमा ढुंगामुढा गरेपछि झडपको स्थिती आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासी डोजरमा ढुंगामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए ।

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकोले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयहरुको ढुंगामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ ।

ग्वाल्लेकमा निर्माण भईरहेको सडकका बिषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भएपनि एक्कासी झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

सडक निर्माणका बिषयमा भएको विवादका बारेमा दुवै पक्षसंग छलफल गरेर टुंगोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

यसै सिलसिलामा स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् ।  चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

बोहरामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसकासाथै अन्य ३ जनालाई पनि पक्राउ गरि अनुसन्धान थालिएको छ ।