काठमाडौं, असोज ३० । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुईदिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ ।
सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने–‘चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिकरुपमा मात्रै नभइ नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीनरुपमासमेत पर्नेछ ।’
मन्त्रिपरिषद्को निर्णयकाबारेमा जानकारी दिन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताए ।
भ्रमणको बहुआयामिक महत्वकाबारेमा थप स्पस्ट पार्दै मन्त्री बाँस्कोटाले भने–‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षितरुपमा, राजनीतिकरुपमा र कूटनीतिक सम्बन्धकारुपमा हेर्नुपर्छ । यसले राजनीतिकरुपमा विशिष्ट प्रकारको सम्बन्ध स्थापित गरेको छ ।’
विश्वशक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुसीको कुरा भएको स्पस्ट पार्दै उनले २३ वर्षपछि नेपालमा त्यसखालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताए ।
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सन्चारमाध्यमलेसमेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
दुई देशकाबीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताए ।
प्रवक्ता बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पस्ट पारे ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उनको भनाइ थियो ।
नेपाल भूपरिवेष्टित नभइ भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोहीखालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताए ।
नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुद्रसम्मको पहुँच, हवाईमार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।
उनले भने–‘हामी रेल्वे, हवाई, सडक, विद्युत्, सन्चार सम्पूर्ण क्षेत्रमा अगाडि बढेका छौं । फाइदाको हिसाबले हामी यसलाई मूल्यमा नाप्नै सक्दैनौं ।’
उनले चिनियाँ राष्ट्रपतिको भ्रमण विकास र समृद्धिका लागि गरिएको रणनीतिक समझदारी भएको उल्लेख गरे ।
‘चीन र नेपालको केही विषयमा समान चासो छन् । नेपालको पनि आर्थिक समृद्धि र विकासको चासो रहेको छ । हामी त्यसैमा केन्द्रित रहेका छौं’–मन्त्री बाँस्कोटाले भने ।
उनले दुई देशबीच भएको रणनीतिक साझेदारीको अर्थ अन्य कुनै गठबन्धन नभएको स्पस्ट पारे ।
नेपाल कुनैपनि सैनिक गठबन्धनमा नलाग्ने र असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई फरक कोणबाट व्याख्या गर्नुको कुनै अर्थ नभएको उनको प्रस्टोक्ति थियो ।
मन्त्री बाँस्कोटाले संसारका जुनसुकै देशका उच्चस्तरीय राजनेताको भ्रमणलाई नेपालले स्वागत गर्ने उल्लेख गरे ।
उनले सरकारको नीति तथा कार्यक्रममा नै उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तर अगाडि बढाउने भन्ने विषय समावेश भएकाले पनि चिनियाँ राष्ट्रपतिको जस्तै थप भ्रमण हुनसक्ने र सरकारले ‘सगरमाथा संवाद’ जस्ता कार्यक्रम पनि अगाडि बढाउन लागेको सन्दर्भमा यस्ता भ्रमण निरन्तर हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्