काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फकिएका छन् ।
२३ बर्षको लामो अन्तरालपछि चीनबाट भएको राष्ट्रपति तहको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने निश्चित छ ।
त्यस बाहेक दुई देशबीच भएका समझदारी र सम्झौताहरुको कार्यान्वयनले दुई छिमेकीलाई थप नजिक बनाउने छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ विश्वका शक्तिशाली नेताहरु मध्ये एक हुन् । चीनको राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालमा रहेका सी नेपालको भ्रमणमा आएको चाहीँ यो पहिलो पटक हो ।
वितेका दुई दशक नेपालमा राजनीतिक अस्थिरता रहेकाले चीनबाट राष्ट्रपति तहको भ्रमण नभएको र अहिले राष्ट्रपति सीले भ्रमण गर्नुले नेपालमा राजनीतिक स्थिरता कायम भएको संकेत विश्वमा प्रवाह हुने राजनीतिक विश्लेषकहरुको धारणा छ ।
भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्ध थप सुढृढ बनाउन मद्दत गरेको धारणा परराष्ट्रविद् निश्चलनाथ पाण्डेको छ ।
राष्ट्रपति सीको भ्रमणमा प्रतिनीधिमण्डलस्तरिय वार्ता हुनुका साथै स्वास्थ्य, भौतिक पूर्वाधार, वाण्ज्यि, बिकास लगायतमा सहकार्यका लागी २० समझदारीपत्रमा हस्ताक्षर गरियो ।
भ्रमणका क्रममा नेपालको अपेक्षा अनुसार उल्लेख्य सम्झौता हुन नसके पनि यी समझदारीहरु कोसेढुङगा भएको पाण्डेको भनाई छ ।
नेपालले यी समझदारीहरुको उचित कार्यान्वयन गरेर दिर्घकालीन लाभ लिन सक्ने उनी बताउँछन् ।
२३ वर्षपछि उत्तरी छिमेकी चीनका राष्ट्रपतिबाट भ्रमण हुनु आफैंमा महत्वपूर्ण छ ।
विश्व शक्तिको रुपमा उदाईरहेको छिमेकी चीनका राष्ट्र प्रमुखको भ्रमणले नेपाललाई विश्व जगतमा अघि बढाउन पनि सजिलो हुने विश्वास पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्