१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


एनआरएनए महासचिवमा डा. केशव पौडेलको उम्मेदवारी


0
Shares

काठमाडौं, असोज २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न नवौं सम्मेलन (२०१९-०२१) का लागि डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल एनआरएन अमेरिकाको अध्यक्ष भइसकेका उनले सुदृढ र पारदर्शी एनआरएन बनाइछाड्ने प्रतिबद्धता पनि जनाए । 

उनले भने, ‘हाल कार्यालयमा अनावश्यक खर्च बढिरहेको, संस्थामा मनपरीतन्त्र बढेको, सचिवालय अस्तब्यस्त भएको छ, यी सबैलाई ब्यवस्थित गर्न महासचिवका लागि तयार भएर आएको छु ।’

घोषणा कार्यक्रममा उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमिप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए । उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए । 

संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘संस्थाभित्रै सम्भावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ ।’

सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘सबैको एनआरएनए, संधैको नेपाली र समान नागरिकताका सवालमा प्रशस्त कामहरु गर्ने प्रण लिएको छु ।’

आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए । उनले भने, ‘स्वार्थभन्दा माथि उठेर सेवा भावले काम गरेमात्र संस्था सबैको प्रिय र जिम्मेवार हुनेछ ।’

यही असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा चल्ने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा विश्वका करिब ८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् ।