काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्ने नेपालीको सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
दुईदिने राजकीय भ्रमणको क्रममा हिजो नेपाल आएका सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा सम्बोधन गर्दै उनले नेपालीको भूजडित मुलुक बन्ने सपनालाई साथ दिने बताएका हुन् ।
दुई मुुलुकबीच बढीभन्दा बढी नाकाहरु खोलेर हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने राष्ट्रपति सीको भनाइ थियो । उनले नेपालले अपेक्षा गरेका बहुप्रतिक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव सहयोग गर्ने बताउँदै केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
राष्ट्रपति सीले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि अघि सारिएका योजनाहरु पूरा गरेरै छाड्नुपर्ने बताए ।
‘हामीले बनाएका योजना पूरा गरेरै छाड्छौं, चीनमा पनि यस्तै गर्ने गरेका छौं,’ राष्ट्रपति सीले भने । चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने घोषणा गर्दै उनले अरनिको राजमार्ग सञ्चालनलाई सुनिश्चित बनाइ विभिन्न चरणमा स्तरोन्नति गरिने बताए ।
नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा आफु निकै खुसी भएको भन्दै उनले चीन र नेपालको सम्बन्धमा कुनै समस्या नभइ केवल मित्रतामात्र रहेको उल्लेख गरे ।
राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई सीलाई स्वागत गर्दै नेपालको पूर्वाधार निर्माणसहित विभिन्न पक्षमा चिनियाँ लगानी तथा सहयोगको अपेक्षा राखिन् । नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको हेर्न चाहेको बताउँदै राष्ट्रपति भण्डारीले नेपालीको चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन् ।
‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न चीनसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले नेपालमा चिनियाँ लगानी सुरक्षा हुने प्रत्याभूति दिलाउँदै लगानीकर्तालाई लगानीका लागि आह्वान गरिन् ।
राजकीय भोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्वप्रधानमन्त्रीहरु लगायत झण्डै दुई सय विशिष्ट व्यक्तिको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्