काठमाडौं, असोज २५ । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको स्वागत गरेका थिए ।
अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामा उनको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झन्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए ।
उनीहरुले करिब दुई घन्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए ।
सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झन्डा हल्लाएर स्वागत गरेका थिए ।
उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चेबाजा र नाचलेसमेत स्वागत गरिएको थियो ।
तीनकुने, नयाँबानेश्वर र बबरमहल, माइतीघर मन्डला, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो ।
उनी त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारीमार्गलाई खाली गरिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए ।
स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झन्डासहितको तस्वीर खिच्न व्यस्त थिए ।
उनी आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो ।
राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझैं सिंगारिएको माइतीघरमन्डलामा सेल्फी खिच्न व्यस्त देखिन्थे ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आएका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्