२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


सिन्धुपाल्चोक बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ‘५० बढी घाइते’


0
Shares

मेलम्ची, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२, भोटसिपास्थित बडहरेचोकनजिक खोँचमा एक सवारी–साधान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० भन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ ।

दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।

छतमासमेत यात्री भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्री उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

कच्चीसडक र यात्री बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

पाँचजनाकोे सनाखत

प्रदेश नम्बर–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका छन् ।

हेलिकोप्टर लिएर घटनास्थल आइपुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँचजनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे, पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, सिन्धुपाल्चोक, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् । रासस