२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिनियाँ राष्ट्रपति भ्रमणको भव्य तयारी छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् ।

६४औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

‘हामी आज यस्तो बेलामा छौं, जतिबेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ । हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौं’–प्रधानमन्त्री ओलीले भने ।

एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान् शक्तिराष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लागेकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणमा जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए । रासस