१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकको सम्बन्ध थप मजबुत् हुने विश्वास


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असोज २४ । चिनियाँ राष्ट्रपतिको दुई दशकपछि हुन लागेको नेपाल भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप मजबुत् हुने विश्वास लिइएको छ ।

भ्रमणले नेपाललाई राष्ट्रहित तथा विकास साझेदारीको पहलका लागि उपयुक्त वातावरण प्रदान गरेको विश्लेषण गरिएको छ ।

विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रकोरुपमा उदाएको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने परराष्ट्र मामिलाका जानकारहरुको विश्वास छ ।

राष्ट्रपति सीको दुईदिने भ्रमणकाक्रममा हुने प्रतिनिधिमन्डलस्तरीय वार्तामा रेल, सडक, सन्चार, विद्युत् तथा पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुने बताइएको छ ।

चीनको तीव्र विकाससँग रेल तथा सडक सञ्जालमार्फत् जोडिएर नेपालको विकासले पनि गति लिनसक्ने अवसर रहेकाले त्यसैअनुरुप गृहकार्य भइरहेको सरकारको भनाइ छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमण दुई मुलकबीच सहयोग, सहकार्यको निरन्तरता र थप विकासका लागि उपयुक्त अवसर भएको बताए ।

चीनले पनि राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ युगको सुरुआत हुने विश्वास लिएको छ ।

भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिँदै भ्रमणमा नेपाल–चीन सम्बन्ध, ‘बीआरआई’ तथा हिमालयपार यातायात निर्माणलाई तीव्रता दिने विषयमा छलफल हुने जनाएका छन् ।

रेलमार्गमार्फत् दुई देशलाई जोड्ने एजेन्डा प्रस्तुत गर्नुका साथै चीनको तिब्बत र नेपालबीच सञ्जाल स्थापना गरी त्यस क्षेत्रको आर्थिक विकासलाई सुदृढ बनाउने योजनाका साथ चीन अघि बढेको पनि जनाइएको छ ।

रेलमार्गलाई प्राथमिकतामा राखे पनि नेपालले अहिले नै रेलमार्गमा लगानी गरेमा प्रत्युत्पादक हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको तर्क छ ।

सडक सञ्जाललाई प्राथमितामा राखेर, निर्यातमा थप सहजीकरण, भौतिक पूर्वाधार निर्माण, उद्योग–व्यवसायमा लगानी भित्र्याउनेलगायतका एजेन्डा सरकारले बनाउनुपर्ने धारणा डा. महतको छ ।