दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते • Image Khabar Image Khabar


दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते


Imagekhabar
२३ आश्विन २०७६, बिहीबार १४:२६

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

दमौली, असोज २३ । पृथ्वीराजमार्गअन्तर्गत् तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा१८च ५३१६ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३–००–०१प८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र ९ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने श्रीमती हुन् भने घाइते सुरज मृतकका श्रीमान् र अर्पण छोरा हुन् ।

दुर्घटनामा घाइते भएकी शोभाको उपचारकाक्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।

दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्