
काठमाडौं, असोज २१ । बडादसैंको टीकाको दिन मंगलबार तीनओटै सुरक्षा निकायले काठमाडौंमा निःशुल्क बस सेवा सन्चालन गरेका छन् ।
सार्वजनिक यातायातका साधन कम चलेर यात्रीहरुले भोग्नुपर्ने सास्तीलाई मध्यनजर गरी टीकाको दिन यात्रीहरुको सहजताका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सन्चालन गरेका हुन् ।
नेपाली सेनाले मंगलबार भद्रकालीबाट उपत्यकाका सबै रुटमा निःशुल्क बस सेवा सन्चालन गरेको छ ।
बिहानदेखि साँझसम्म सन्चालन हुने सेनाको निःशुल्क बस सेवाको सातओटा रुट निर्धारण गरिएको छ ।
नेपाल प्रहरीले भने महाअष्टमीको दिनदेखि नै निःशुल्क बस सेवा सन्चालन गरिरहेको छ ।
प्रहरीले यात्रीको भीडभाड बढी हुने ठाउँमा निःशुल्क बस सेवा सन्चालन गरिरहेको छ ।
यस्तै, सशस्त्र प्रहरीले महानवमीदेखि सुरु गरेको निःशुल्क बस सेवा एकादशीका दिनसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझसम्म सन्चालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।
बडादसैंको बेला सार्वजनिक यातायातका सवारी–साधनहरु कम चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले तीनओटै सुरक्षा निकायले निःशुल्क बस सेवा सन्चालन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्