मतभेदलाई बिर्सेर देशको सर्वांगीण हितमा संलग्न होऔं : देउवा • Image Khabar Image Khabar


मतभेदलाई बिर्सेर देशको सर्वांगीण हितमा संलग्न होऔं : देउवा


Imagekhabar
२१ आश्विन २०७६, मंगलवार ०७:३३

मतभेदलाई बिर्सेर देशको सर्वांगीण हितमा संलग्न होऔं : देउवा

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमीको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले ‘धार्मिक र सांस्कृतिक पर्व विजयादशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड हो’–भनेका छन् ।

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताकोरुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा बताएका छन् ।

‘मौलिक भेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताकोरुपमा परिचायक पनि हो । विजयादशमीले हामीबीचको एकतालाई अझ मजबुत् बनाएको छ’–सन्देशमा उनले भनेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहका निर्वाचन सम्पन्न भइ मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भनेमात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

संसारभरि शान्तिको सन्देश फैलाउने देशकोरुपमा नेपालले आफ्नो परिचय बनाएको, एकता, मेलमिलाप र सद्भावकारुपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई बिर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वकोरुपमा ग्रहण गर्नसके यसको महत्व अझ बढ्ने उनले बताएका छन् ।

सभापति देउवाले विजयादशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्