गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, असोज १७ । नेपालीहरुको महान् चाड बडादसैं संघारमै आइपुगेको छ ।
रोजगारीका लागि विदेशिएका नेपालीहरु दसैं मनाउन घर फर्कंदा दंग देखिन्छन् ।
तर, महान् पर्वकै मुखमा उदासीन अनुहार लिएर रोजगारीका लागि झोला बोकेर विमानस्थल पुग्नेहरुको संख्या पनि कम छैन ।
त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय प्रस्थान र आगमनको साझा विन्दु । आफन्तसँगको मिलन र विछोडमा भावविह्वल हुनेहरुको ताँती दैनिक देखिन्छ यहाँ ।
अझ चाडबाडका बेला परिवार र आफन्तजनसँग विछोडिनु पर्दाको पीडा त खपिनसक्नु हुने नै भयो ।
हाम्रो टोली विमानस्थल पुग्दा कर्मथलोबाट मातृभूमि फर्कने युवा–युवतीको लर्को नै थियो ।
तर, घर आउन पाउँदा खुसी चमक बोकेकाहरुको भीडमा उदास अनुहार लिएर परिवारका सुन्दर सपना पूरा गर्न बाहिरिँदै गर्नेहरु पनि उत्तिकै थिए ।
लामो समयपछि परिवारजनसँगको भेट, घर–आँगनमा आइपुगेको दसैंको समय । घर फर्कंदाको खुसी अनुहारमै छचल्किन्थ्यो ।
यसैपनि मातृभूमि फर्कंदा को खुसी नहोला र ? झन् चाडबाडको समयले झन् हर्ष थप्ने भयो नै । जसोतसो बिदा मिलाएर घर आएको उनीहरु बताउँदै थिए ।
दसैंजस्ता चाडबाडमा घर आउन नपाउँदा पनि विदेशकै कर्मथलोमा पनि दसैंको बेला रमाइलो गर्ने गरेको पनि उनीहरु बताउँछन् ।
घर फर्कने आफन्तलाई लिन जानेको मात्र होइन, बिदाइ गर्न जानेको लर्को पनि उत्तिकै छ, विमानस्थलमा ।
देशले रोजगारी दिन नसक्दाको पीडा बोकेर पराइ माटोमा पसिना बगाउन विदेशिनेहरु पनि दुःखेसो पोख्दै थिए । अझ आफन्तलाई चाडका बेला चटक्क बिदाइ गर्नु कहाँ सजिलो छ र ? त्यसैले त उनीहरु दुःख पोख्छन् ।
देशमै रोजगारी पाएको भए चाडबाडमा विदेशिन कसलाई पो रहर थियो र ?
प्रतिक्रिया दिनुहोस्