विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै « Image Khabar


विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै


Imagekhabar
२६ चैत्र २०७७, बिहीबार १४:०६

सुरेन्द्र भण्डारी
झापा । उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) को सहकार्यमा सुखानी सहिद स्मृति प्रतिष्ठानले सन् २०१२ बाट विश्वमा लोपुन्मुख अवस्थामा पुगेका विभिन्न आठ प्रजातिका कछुवा संरक्षण गरेर राखेको छ । प्रतिष्ठानले सञ्चालन गरेको ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ मा अहिले ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको छ ।

समुदायमा आधारित भएर सञ्चालनमा ल्याइएको कछुवा संरक्षण केन्द्र सुखानी सहिद स्मृति प्रतिष्ठानको तीन विगाह क्षेत्रफलमा फैलिएको छ । यहाँ विश्वमै दुर्लभ मानिएका कछुवासमेत संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक सविन अधिकारीले बताउनुभयो । कछुवा उद्धार तथा संरक्षण केन्द्रमा संरक्षण गरेर राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित आठ प्रजातिका कछुवा छन् ।

कछुवा संरक्षणका लागि प्रतिष्ठानले साना ठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपेको छ । जसमा झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवा छाडिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिलेपनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा शोधपत्र पनि तयार पारिरहेका छन् ।

सविन अधिकारी, कार्यक्रम निर्देशक, टीआरसीसी टटल्स क्लव जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कछुवा संरक्षण केन्द्रमा राखिएका कछुवाको प्रजनन्समेत भएको छ । लकडाउनको समयमा मानिसको आवागमन कम भएका कारण कछुवाको प्रजनन्मा सहयोग पुगेको बताइन्छ । अहिले यहाँ राखिएका कछुवाका चारवटा बच्चा जन्मिएका छन् ।

जसलाई प्रतिष्ठानका पदाधिकारीले प्रत्यक्ष निगरानी गरेर हेरचाह गरिरहेका छन् । उभयचर प्राणीमा पर्ने कछुवा विश्वमै मेरुदण्डीय जीवहरुमध्ये अति संकटापन्न अवस्थामा छ । यस्तो अवस्थामा केन्द्रले नेपालमा पाइने मात्र नभइ विश्वमा पाइने कछुवाको पनि संरक्षण गरेको छ । प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ । पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्