२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


मौलाकालिका मन्दिरमा नवरात्रीसँगै दर्शनार्थीको घुइँचो, यहाँ दर्शन गरे आँटेको कुरा पूरा हुने जनविश्वास


0
Shares

विवेक भण्डारी

नवलपुर, असोज १६ । नवलपुरको गैंडाकोटमा रहेको प्रसिद्ध मौलाकालिका मन्दिरमा नवरात्रीसँगै दर्शनार्थीको घुइँचो लागेको छ । शक्तिस्वरूपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुने जनविश्वास रहेको छ ।

देशको मध्यभागमा चितवनसँगै जोडिएको नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिर देशका प्रमुख शक्तिपिठमध्येको एक हो । जसका कारण नेपालीहरुको महान चाड बडा दशैंको फुलपातीको दिन यस मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । भगवती देवीको पूजा गरेपछि दुःख–कष्ट अन्त्य हुनुको साथै आँटेको कुरा पुरा हुने विश्वासमा मन्दिरको महत्व बढ्दै गएको मन्दिरका प्रमुख पुजारी क्षेत्रप्रसाद पराजुली बताउँछन् ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा वर्षभरी नै भक्तजनको घुँइचो लाग्ने गर्दछ । पूर्व–पश्चिम राजमार्गमा पश्चिम बुटवलतर्फ नारायणी नदीको पुल पार गर्ने बित्तिकै नवलपरासी सुरु भएपछि दायाँ मोडिने बित्तिकै करिव दुई किलोमिटर पार गरेपछि मौलाकालिका मन्दिर पुग्न सकिन्छ । दशैंको बेला भक्तजनहरुको घुईचो लागेपछि व्यवस्थापनमा हम्मे हम्मे पर्ने गरेको छ  ।

वि.सं. ०४४ देखि आवासीय पुजारीले दैनिक पूजा सञ्चालन गरिरहेको यस मन्दिरमा ०६४ देखि आवासीय दुई पुजारीले नित्य पूजा सञ्चालन गरिरहेका छन् । सात्विक पूजा सञ्चालन हुने सो स्थानमा देवी मन्दिर भएर पनि काटमार वा बली पूजा भने हुँदैन । फेदीदेखि करिब १७ सय खुड्किला ४० मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ । त्यसपछि भक्तजनहरुले सहज रुपमा पूजा गर्न पाउँछन् । मौलाकालिका मन्दिरप्रति विश्वास र भरोसा भएकाले दर्शन गर्न आएको दर्शनार्थी बताउँछन् ।

२०३३ सालदेखि नै पूजाआजा हुँदै आएको मन्दिरको १५७५ देखिको इतिहास छ । यस मन्दिरमा नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँ लगायतका जिल्ला र भारतका बिभिन्न स्थानबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । 

भिडियो हेर्नुहोस्