
बैतडी, असोज १६ । नेपाल–भारत सीमानामा रहेको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
भारतको पिथौरागढ जिल्लामा असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलताको कारण जनाउँदै सीमानाका बन्द हुन लागेको हो ।
आज साँझ ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सिमा (पुल) बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । यसका साथै असोज २८ गते भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।
उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ । चाडपर्वको बेला सीमानाका बन्द हुने हुँदा भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।
आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्