२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति


0
Shares

काठमाडौं, असोज १५ । काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा बुधबार गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो ।

बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दिगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई जिम्मेवारी दिइएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् ।

समितिको कार्यशर्त पर्यटन मन्त्रालयले बनाउने निर्णयसमेत बैठकले गरेको छ ।

गत शनिबार बौद्धनाथ स्तुपाभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्ज्वलनमा आपसी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । रासस