२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दशैं मनाउन स्वदेश फर्किएका नेपालीलाई भारतीय सुरक्षा बलद्वारा सास्ती (भिडियो)


0
Shares

-दुर्गा उपाध्याय र विराज रोस्यारा(ईमेज)

कैलाली/कञ्चनपुर । दसैँको चहलपहल सुरु भइरहँदा रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु पनि घर फर्किन थालेका छन् ।

पश्चिमी सीमा नाका गौरीफण्टा र गड्डाचौकी भएर अहिले घर फर्कनेहरुको घुँइचो नै लाग्न थालेको छ ।

विगतको तुलनामा सहज भए पनि चेकजाँचको क्रममा सीमा नाकामा भारतीय सुरक्षा बल एसएसबीले भने अनाहकमा दुःख दिने गरेको यात्रुहरुको गुनासो छ । 

सुदूरपश्चिमलगायत नेपालका विभिन्न स्थानबाट भारतका विभिन्न शहर पुगेकाहरु दशैँतिहारजस्ता चाडबाड मनाउन फर्किने क्रम जारी छ ।

कोही वर्षैभरी त कोही केही महिनाको लागि काम गर्न गएकाहरु घर फर्किएको घुइँचो गौरीफन्टा र गड्डाचौकीको नाकामा देख्न सकिन्छ ।

दशैँ मनाउन घर फर्किरहेका नेपालीहरुलाई चोजाँचको लागि सीमामा विगतको भन्दा केही सहज भए पनि भारतीय सुरक्षा बल एसएसबीले भने दुख दिन छाडेको छैन ।

भारतीय कस्टमले समेत आवतजावतमा सहज बनाएका बेला भारतीय एसएसबीबाट चेकजाँचका नाममा घरका लागि ल्याएका सामान ल्याउन समस्या भइरहेको छ ।

चेकजाँजका क्रममा झोला नै च्यात्ने, दुव्र्यवहार गर्ने गरेको यात्रुहरुको गुनासो छ । चेकजाँचका नाममा ४/५ घण्टा कुराउने तथा ल्याएको सामान नै तितरवितर पार्ने किसिमका समस्या भोग्नुपरेको हो ।

भारतीय प्रहरीले पनि सिधै रकम नलिई गाडी स्टाफमार्फत् रकम लिइरहेको पनि नेपालीहरुको गुनासो छ ।

घर फर्किने नेपालीहरुलाई कुनै समस्या नहोस् भनेर विभिन्न नाकाहरुमा सीमा सहायता कक्ष राखिएको छ । सहायता कक्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतिय सुरक्षा बल एसएसबी पनि बस्ने गरेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भने विगतका तुलनामा सीमानाकाको सास्ती सुधार भएको र देखिएका समस्या समाधानका लागि पहल गर्ने धारणा राख्छन् ।

अर्कोतिर सीमा नाकामा लुटपाट र ठगीका घटनाहरु पनि बढ्दै गएका छन् । भारतीय कस्टम, टाँगा, म्याजिक र अटोलगायतका सवारीसाधनबाट यात्रुहरु लुटिने र ठगिने गरेका हुन् ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्य यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिने सवारीसाधनबाट भाडा फिर्ता गराई कारबाही  समेत गरिएको बताए ।

यस वर्ष विगतका तुलनामासुधारोन्मुख भएपनि सबैलाई निर्धक्कसँग आउन सक्ने अवस्था भने अझै बन्न सकेको छैन ।