२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर बयान फेरेकी महिलाको निशानामा नेम्वाङ !


0
Shares

काठमाडौं, असोज १५ । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नेपालको राजनीतिमा एकाएक हलचल ल्यायो । यौन दुर्व्यवहारको आरोप लागेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नै महरालाई राजीनामा दिन सुझाव दिएको थियो ।

महराले राजीनामा दिएको केही घण्टा बित्न नपाउँदै रोशनीले आफ्नो बयान फेरेर एक पटक फेरि धेरैलाई चकित तुल्याइन् । उनले महरा आफ्नो बुवासमान भएको भन्दै बुवा–छोरीको सम्बन्धलाई ‘बलात्कार’सँग जोडेर प्रचार नगर्न भिडियो अन्तरवार्तामार्फत पत्रकारलाई आग्रह गरेकी छन् ।

महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीले आफ्नो बयानमात्र फेरेकी छैनन्, निशाना पनि फेरेकी छन् । सोमबार सार्वजनिक भिडियोमा सभामुख महरालाई तथानाम भन्दै आफूलाई बलात्कार गरेको आरोप प्रष्ट शब्दमा लगाएकी उनले मंगलबार सार्वजनिक अर्को भिडियोमा ‘महरा मेरो बुवाजस्तै’ भनेर चोख्याउने प्रयास गरेकी छन् । यद्यपि सोमबार सार्वजनिक भिडियोमा उनले आफ्नो मोबाइलमा महराले गरेको ‘कल’ (नम्बरसमेत देखिने गरी’ सार्वजनिक गरेकी थिइन् ।

पछिल्लो समय उनी सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङतर्फ निशाना सोझ्याउन थालेकी छन् ।

महरा यौन दुर्व्यवहार प्रकरणमा केही सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै नेम्वाङले ‘महरालाई अब नेकपाले संसदका रुपमा चिन्दैन’ भनेका थिए । एक अनलाइनले लेखेको सोही समाचारलाई आफ्नो फेसबुकमा सेयर गर्दै रोशनीले ‘बहुविवाह गर्ने उपनेतालाई पनि कारवाही गर्नुपर्छ, न्याय दुवैलाई समान हुनुपर्छ’ भनेकी छन् । 

सोही विवरणसहितको समाचार प्रकाशित अर्को अनलाइनको लिंक सेयर गर्दै उनले लेखेकी छन्, ‘महरा सरले हैन बरु बहुविवाह गरेकालाई कारवाही गर्नुपर्छ । महरा सर मेरा गुरुबाउ हुन्, यही नै सत्य हो ।’

उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै आफूले किटानी जाहेरी नदिएसम्म महरालाई कसैले छुन नपाउने चेतावनीसमेत दिएकी छन् । उनले लेखेकी छन्, ‘हामी सल्लाह गर्दैछौं, अरुले टाउको दुखाउनु पर्दैन ।’