प्रकाश लम्साल (इमेज)
बारा, असोज १३ । बाराको निजगढ नगरपालिका–१० स्थित बौद्ध विद्यालय सन्चालनमा कठिनाइ भएको छ ।
चन्दा र धार्मिक कार्यक्रममार्फत् संकलित रकमबाट सन्चालित विद्यालयमा आधारभूत व्यवस्थापनसमेत हुन सकेको छैन ।
बाराको निजगढमा पर्ने पाल युल सम्तेन लिग गुम्बा बौद्ध विद्यालय प्रदेश नम्बर–२ कै एउटामात्र अध्यापन गराइने बौद्ध गुम्बा हो ।
जहाँ बारा, मकवानपुर, सर्लाहीलगायत भारतको सिक्किमबाट आएका करिब २५ जना अनाथ बालकहरुले अध्ययन गरिररहेका छन् ।
बौद्ध शिक्षाका अलावा नेपाली पाठ्यपुस्तक पनि पढाइने यस विद्यालयमा विद्यार्थीहरुलाई कापी–कलमको जोहो गर्न पनि समस्या हुने गरेको छ ।
बस्नका लागि समस्या नभएपनि पानीको समस्याका कारण सरसफाइ गर्न नपाउँदा अधिकांश विद्यार्थीहरु चर्मरोगबाट पीडित बनेका छन् ।
सानो उमेरमा पढ्न नपाएका तामाङ समुदायका लागि बौद्ध शिक्षा दिलाउने उद्देश्यले सन्चालनमा ल्याइएको यस विद्यालयलाई सरकारले कुनै सहयोग नगरेको व्यवस्थापन समितिका सचिव रेशम लामाको भनाइ छ ।
तीन वर्षको पढाइ पूरा भएपछि भिक्षु विद्यार्थीलाई थप अध्ययनका लागि भारतको बौद्ध गुम्बामा पठाइने गरिएको छ ।
स्थानीय र चन्दादाताको सहयोगमा विद्यालय चलाइएको विद्यालयका अध्यापक तथा बौद्ध भिक्षु संगे छिरिङको भनाइ छ ।
यहाँ भर्ना भएका विद्यार्थी पाँच वर्षदेखि १४ वर्षको उमेर समूहका छन् । जसमध्ये कतिपयका बुवा–आमा छैनन् भने कसैका बाबु–आमामध्ये एकजना छैनन् ।
पूजापाठ र स्थानीयको सहयोगबाटमात्र विद्यालय सन्चालन गर्न कठिनाइ भएकाले तीनै तहका सरकारको ध्यान जानुपर्ने स्थानीय श्यामबाबु गुप्ता बताउँछन् ।
बौद्ध शिक्षा लिन भारत जान रोक्ने अभिप्रायले यो विद्यालय स्थापना गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्