पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, यस्तो छ महिमा • Image Khabar Image Khabar


पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, यस्तो छ महिमा


Imagekhabar
१२ आश्विन २०७६, आईतवार १४:१४

पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, यस्तो छ महिमा

सन्तोष पुर्कुटी 

ताप्लेजुङ, असोज १२ । ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिरको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहीआएको छ ।

पाथीभरा देवीको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा ठूलो महत्व छ । नेपालकै प्रमुख शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा नवरात्रको समयमा विशेष पूजा अर्चना गरी बली चढाउने चलन छ । वर्षेनि २ लाखभन्दा बढी दर्शनार्थी आउने यस मन्दिरमा धार्मिक पर्यटन विकासको पनि ठूलो सम्भावना देखिन्छ । देशभरी नवदुर्गा भवानीको पूजाअर्जना भव्यताका साथ सुरु भइरहँदा पाथिभरा देवीको मन्दिरमा पनि चहलपहल भइरहेको छ ।

देवी पाथीभराले भक्तजनहरूले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीको महिमा र देवीप्रतिको आस्थाका कारण देश विदेशबाट दर्शनार्थी आउने क्रम जारी छ ।

मन्दिरप्रतिको श्रद्धा र यसको शक्तिबारे मानिसहरुमा गहिरो विश्वास देखिन्छ । साक्षात् शक्तिशाली देवीको रुपमा परिचित यस मन्दिरमा भाकल र दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको दर्शनार्थी बताउँछन् ।

प्राय बाह्रै महिना दर्शनार्थी खचाखच हुने यस मन्दिरमा नवरात्रिको अवसरमा त अझ थामिनसक्नु घुइँचो हुने गरेको छ । पाथीभरा दर्शनका लागि पहिलेदेखि नै राजा, महाराजादेखि उच्च पदस्थ अधिकारीहरु पनि आउने गर्दथे र अहिले पनि आउँछन् । हिन्दु धर्मावलम्बी मात्र होइन किराँत धर्म मान्नेहरु पनि यहाँ पुग्ने गरेका छन् । 

धार्मिक पर्यटन प्रवर्द्धनका हिसाबले ठुलो सम्भावना बोकेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर अझै पनि भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारको पर्खाइमा छ ।

 

प्रतिक्रिया दिनुहोस्