२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिभुवन राजपथमा सवारी जाम, अस्पताल ल्याउँदै गरेका बिरामीको बाटोमै मृत्यु


0
Shares

धादिङ, असोज १० । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह छन् । 

रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नम्बरको बसमा मिर्गौला रोगी साहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि साहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि साहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।

आमा, भाइ र दाजुसँगै साह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका साहको आमाकै काखमा मृत्यु भएको हो ।

सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् । (रासस)