जैविक तटबन्ध : नदी कटान रोक्न कम खर्चिलो र प्रभावकारी • Image Khabar Image Khabar


जैविक तटबन्ध : नदी कटान रोक्न कम खर्चिलो र प्रभावकारी


Imagekhabar
१० आश्विन २०७६, शुक्रबार १०:३१

जैविक तटबन्ध : नदी कटान रोक्न कम खर्चिलो र प्रभावकारी

सर्लाही, असोज १० । नदी कटानबाट पीडित बनेका सर्लाहीको हरिवन नगरपालिकाका स्थानीयले जैविक तटबन्ध निर्माण गरिएसँगै राहत महसुुस गरेका छन् । कटानबाट जमिन क्षति भएपछि खोलाको किनारमा घाँस र रुख विरुवा रोपेर सुरक्षित तुल्याउन थालिएको हो ।

जाली र ढुंगाले बनाएका तटबन्ध वर्षायामको भेलले बगाइदिएपछि सर्लाहीको हरिवन नगरपालिका–९ का स्थानीयलाई खेत जोगाउनै मुस्किल परेको थियो । तर भूसंरक्षण कार्यालयको सहयोगमा करिब ६ वर्ष अगाडि जैविक तटबन्धअन्तर्गत खोलाको दुवै किनारमा बाँस, अम्रिसो, सिसौ, मसला, खयर र खोलामै पाइने काँस रोपेपछि अहिले जमिन कटान रोकिन थालेको छ । जैविक तटबन्ध निर्माणपछि जमिनमात्र सुरक्षित भएको छैन, स्थानीय पनि ढुक्कसँग बसेका छन् ।

जाली र ढुंगाको तटवन्ध निर्माण गर्दा लागत पनि बढी लाग्ने र सुरक्षित पनि नहुने भएपछि कम लागतमै जैविक तटबन्ध निर्माण गरिएको हो । जैविक तटबन्धले गर्दा एकातर्फ वातावरणीय सन्तुलन कायम भएको छ भने अर्कोतर्फ कटानको समस्या कम भएको छ ।

एक किलोमिटर जाली र ढुंगाको तटवन्ध गर्दा लाग्ने लागतबाट २० किलोमिटर जैविक तटबन्ध गर्न सकिने र सुरक्षित पनि बढी भएको हरिवन नगरपालिका–९ वडाध्यक्ष सीताराम पोखरेलको भनाइ छ ।

जैविक तटबन्धबाट एकातिर जमिन कटान रोकिएको छ भने अर्कोतिर खोलामा पानीको बहाव कम हुन थालेको छ । आर्थिक रुपमा सबल र सक्षम बनाउन मद्दत पुग्ने देखेर गत आर्थिक वर्षमा विभिन्न खोलामा नगरपालिकाले एक करोड पचास लाख रुपैयाँ लगानी गरेको नगरप्रमुख गणेश प्रसाइँ बताउँछन् ।

कम खर्चमै प्राकृतिक विनासलाई कम गर्न सकिने यस्ता पहलकदमीलाई अरु ठाउँमा पनि आत्मसात् गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्