२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘संक्रमणकालीन न्याय निरुपणलाई टुंगोमा पुर्‍याउन अहिले वातावरण सकारात्मक’


0
Shares

काठमाडौं, असोज ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भएर दुवै आयोग गठन हुने दाबी गरेका छन् ।

बिहीबार राजधनीमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय निरुपणलाई टुंगोमा पुर्‍याउन अहिले वातावरण सकारात्मक बनेको जिकिर गरे ।

चार वर्षसम्म पनि यो विषय टुंगो लाग्न नसक्नुमा आयोगमात्र दोषी होइन भन्दै दाहालले ‘राजनीतिक नेतृत्व र सरकार नै दोषी हुन्’–भने ।

राजनीतिक दलहरुबीच द्वन्द्वका अवशेषहरु बाँकी रहेकाले समस्या समाधानमा भन्दा पनि एकार्कालाई होच्याउने र दोष दिने प्रवृत्ति हावी भएको र त्यसै कारणले समयमा समस्या समाधान नभएको बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संक्रमणकालीन न्याय निरुपणको विषय टुंगो लगाउन राज्यको तर्फबाट ढिला भइरहेको बताए ।

देशले फेरि अर्को द्वन्द्व सहन नसक्ने भन्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूल प्रवाहमा आउन आग्रह गरे ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरु दुईथरी रहेको भन्दै दुवैको कुरा सुनेर न्याय दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा द्वन्द्वपीडितहरुले कांग्रेस सभापति देउवाले आफूहरुको गुनासो नसुनेको भन्दै सभाहलमा नाराबाजीसमेत गरेका थिए ।