
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, असोज ९ । एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले पठाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुन हाल काठमाडौंमा उपचारमा रहेकी छन् ।
अनुहार, छाती र हातका केही भाग जलेको मुस्कानको शल्यक्रियापछि स्वस्थ्यमा सुधार आएपनि पूर्णरुपमा ठीक भइसकेकी छैनन् ।
भयावह घटना व्यहोरेकी खातुनको आत्मबल बढाउन देश–विदेशबाट सन्देशहरु आइरहेका छन् ।
यसैक्रममा बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति स्यानन्ले पनि मुस्कानलाई सन्देश पठाएका हुन् । वरुण धवन मुस्कानका मनपर्ने बलिउड कलाकार हुन् ।
कृति स्यानन्ले मुस्कानकोबारेमा जानकारी पाएपछि मुस्कानसँग ‘भिडियो कल’मा कुरा गर्दा मुस्कानले आफू वरुण धवनको ‘फ्यान’ भएको बताउँदै आफ्नो सन्देश वरुणसम्म पुर्याइदिन आग्रह गरेकी थिइन् ।
मुस्कानको सन्देश पाएपछि वरुण धवनले सामाजिक सञ्जालमार्फत् नै मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् । जसमा वरुणले मुस्कानलाई आराम गरेर ठीक हुन सुझाएका छन् ।
उनले भनेका छन्–‘मलाई विश्वास छ, तिमी चाँडै ठीक हुनेछौं । धेरै आराम गर्नू र ठीक भएपछि आफ्नो पढाइलाई मिहिनेतका साथ निरन्तरता दिनू ।’
वरुणले मुस्कानलाई पूर्णरुपले ठीक भएर उनलाई भेट्न मुम्बई आउन पनि भनेका छन् । उनले मुस्कानसँग भेटेरै कुराकानी गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।
After @Varun_dvn learned about her diehard fan from @kritisanon he immediately made a video for Muskan and sent it to her. The emotion is unexplainable. The girl has got new life and she wants to live all over again and hoping to meet Varun soon. Thank you guys for your efforts. pic.twitter.com/y2a9nwnTh3
— Farmer Zunaid Memon जुनैद (@JunaidFarmer) September 25, 2019
त्यसो त थुप्रै नेपाली कलाकारहरुले पनि अस्पताल पुगेरै मुस्कानलाई भेटेका छन् । गायक राजु लामा, मोडल नीति शाहलगायतले मुस्कानलाई भेटेर हौसला बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस्