२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंका सडक बालबालिकाको उद्धारमा निरन्तरता


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, असोज ९ । पछिल्ला दिनमा राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौंका सडक बालबालिकाहरुको उद्धारमा आफ्नो सक्रियता बढाएको छ ।

लागुऔषध र कुलतमा फसेका किशोर–किशोरीलाई नयाँ जीवन दिन चालिएको यो प्रयास चुनौतीपूर्ण पनि छ ।

उनीहरुलाई सम्झाइ–बुझाइ गरी नियन्त्रणमा लिन खोज्दा अधिकांश किशोरीहरु रुने–कराउने गरेका छन् ।

धेरै बालबालिका र किशोर–किशोरीहरु खोजतलास केन्द्रका प्रहरी देख्नेबित्तिकै भाग्ने गर्दछन् ।

बालअधिकार परिषद् र खोजतलास केन्द्रले गत असोज ५ गते काठमाडौंको विभिन्न स्थानमा छापामारी ३५ भन्दा बढी सडक बालबालिका र किशोर–किशोरीलाई उद्धार गरेको थियो ।

बुधबार राति ९ बजेदेखि करिब २ बजेसम्म चलाइएको खोजतलास अभियानमा ४१ जनाको उद्धार गरिएको छ ।

नियन्त्रणमा आएका अधिकांशले आफ्नो परिवार रहेको झुटो विवरण दिने गरेका छन् ।

हेर्दा–सुन्दा साँचोजस्तो लागे पनि यथार्थ भने फरक हुन्छ । बालबालिका उद्धार समूहले काठमाडौं उपत्यकाका ठमेल, रत्नपार्क, कलंकी, सातदोबाटो र ललितपुरका विभिन्न स्थानमा छापा मारेको थियो ।

हेर्दा सामान्यजस्तो पनि रातको समयमा उनीहरुलाई नियन्त्रणमा लिन निकै नै कठिन र जोखिम हुने गरेको उद्धार टोलीमा खटिएकी बालबालिका खोजतलास समन्वय केन्द्रका सई सुशीला रावतले जानकारी दिइन् ।

कतिपय सडक बालबालिका र किशोर–किशोरीहरु एचआइभीपीडितसमेत हुने र त्यसक्रममा उनीहरुले उद्धार टोलीका प्रतिनिधिलाई टोक्ने र चिथोर्ने पनि गर्छन् ।

यसरी नियन्त्रणमा लिएकाहरुको व्यवस्थापनका लागि संघ–संस्थाहरुसँग समन्वय गरेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख, प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

कुनै सयम यसरी नै सडकबाट उद्धार गरिएका किशोर–किशोरी र युवाहरुको संस्था सोबर रिकभरीका सदस्यहरुको सक्रियता पनि यो कार्यमा निकै प्रशंसनीय छ ।

उद्धार गरिएकाहरुलाई कम्तीमा पनि ६ महिनासम्म सोही संस्थामा राखिने र विभिन्न सीपमूलक तालिमहरु दिइने गरेको छ ।

केही सडक बालबालिका भने तालिमप्राप्त भइसकेर पनि पुनः सडकमै फर्कने गरेका छन् । जसका कारण उद्धार टोलीलाई केही समस्या थपिएको छ ।

पछिल्लो समय गरिएको उद्धारको कार्यले सडक बालबालिकाको संख्यामा केही कमी आएको छ ।

भिडियो हेर्नुहोस्