२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेस


0
Shares

काठमाडौं, असोज ८ । नेपालगन्जबाट दैलेख लैजानेक्रममा सुर्खेतको कटकुुवा जंगलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयकाअनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारबाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

गत भदौ १२ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएको झन्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जंगल आसपास क्षेत्रमा मृत फेलापरेका थिए ।

घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वाभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रकचालकलगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिए ।

सो घटनामा नेपालगन्ज उपमहानगरपालिकाको लापरबाही देखिएको भन्दै स्थानीयले कारबाहीको माग गरेका थिए ।

उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई त्यहाँको काञ्जीहाउसबाट दैलेख पठाउनेक्रममा उक्त घटना भएको थियो ।

उपमहानगरपालिकाले नियतबस घटना भएको अस्वीकार गर्दै आएको छ । रासस