२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कावासोतीमा कार र ट्रक ठोक्किए, पाँचजनाको मृत्यु


0
Shares

हरि शर्मा (इमेज)

परासी, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पूर्वी नवलपरासीस्थित नारायणढ–बुटवल सडकखन्डमा कार र ट्रक एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।

सोमबार राति कावासोती नगरपालिकाको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किएका हुन् ।

मृतक सबै कारमा सवार यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर र कैलालीको धनगढीका सुरज रानामगर रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत हुन सकेको छैन ।

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रकसित कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनाको समयमा त्यस स्थानमा हावाहुरीसहित पानी परेको थियो । तीव्रगतिमा रहेको कारले ‘ओभरटेक’ गर्नेक्रममा ट्रकसित ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

कार पूर्णरुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न करिब दुई घन्टा लागेको जनाइएको छ ।

सो ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।

बस दुर्घटनामा चालकको मृत्यु, १६ घाइते

यस्तै, नवलपुरको मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा सोमबारै राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख ८६४२ नम्बरको यात्रीवहाक बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको हेटौंडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १६ जनाको नवलपुर, कालीगन्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।