३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


६५ प्रतिशत घरमा शौचालय छैन, जिल्ला ‘खुला दिशामुक्त’ घोषणा (भिडियो)


0
Shares

प्रकाश लम्साल

बारा, असोज ६ । ६५ प्रतिशत घरमा शौचालय नभएको बारालाई खुला दिशामुक्त जिल्ला घोषणा गरेपछि आलोचना भएको छ । जिल्लास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिले विरोधका बाबजुद जिल्लालाई खुला दिशामुक्त घोषणा गरेपछि आलोचना भएको हो ।

बाराको कूल एक लाख पाँच हजार १५ घरपरिवारमध्ये ३५ प्रतिशतसँग मात्र शौचालय छ । तर युनिसेफ, युएन ह्याबिट्याट र एसएनभी नेपालले भदौ २४ गते संयुक्त रुपमा शतप्रतिशत शौचालय निर्माण भएको गलत तथ्यांक सार्वजनिक गरे । वडा र जनस्तरबाट व्यापक विरोध हुँदा पनि गत भदौ २७ गते जिल्लास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समिति बाराले खुला दिशामुक्त जिल्ला घोषणा गर्‍यो ।

गरिब, असहायको घरमा चर्पी नबनेसम्म हचुवाका भरमा खुला दिशामुक्त घोषणा गर्नुको कुनै औचित्य नभएको स्थानीयको भनाइ छ ।

आफ्नो वडा कहाँ, कहिले खुला दिशामुक्त घोषणा भयो भन्ने थाहा नपाएको जितपुर सीमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष नवराज खड्काको भनाइ छ । खुला दिशामुक्त घोषणा कार्यक्रममा जिल्लाका १६ स्थानीय तहमध्ये ३ तहका मात्र प्रमुख सहभागी थिए र अरुले विरोध गरेरै उपस्थित भएनन् ।

असोज दोस्रो साता नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिशामुक्त देश घोषणा गर्ने तयारीअनुसार जिल्लालाई हतारमा दिशामुक्त घोषणा गरिएको हो । देखाउनकै खुला दिशामुक्त जिल्ला घोषणा गर्नुभन्दा पहिले त्यसलाई कार्यान्वयन गर्न सकिने अवस्था बनाउनु आवश्यक थियो ।

भिडियो हेर्नुहोस्