२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


टिकट बुकिङ गर्न यात्रुहरुको लाइन, सास्ती पुरानै


0
Shares

काठमाडौं । दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ ।

काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा जाने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले आइतबारबाट टिकट बुकिङ थालेका हुन् । योसंगै उपत्यकका विभिन्न स्थानहरुमा टिकट काउण्टरहरुमा बुकिङको लागि यात्रुहरुको लाम लाग्न थालेको छ ।

आईतबारबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ गर्न सक्ने गरि टिकट बुकिङ खुला गरिएपछि यात्रुहरुको भीड लागेको हो ।

विभागले कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगाती र लगनखेलमा रहेका काउन्टरहरुबाट टिकट बुक गर्न सकिने व्यवस्था मिलाएको छ ।

तर यात्रुहरुले टिकट बुकिङको लागी यस वर्ष पनि अघिल्ला वर्षहरुमा झै सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

कतिपय यात्रुहरुले बिहान ५ बजेबाट दिउसो १२ बजेसम्म लाईनमा बस्नुपरेको, टिकट काट्दा सास्ती बेहोर्नुपरेको भन्दै गुनासो गर्छन् ।

दशैंको लागि झण्डै ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । टिकट बुकिङ आईतबार खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै संचालनमा आउनेछ

सरकारले यातायात क्षेत्रमा सिन्डिकेट हटाएको दाबी गर्दै आएपनि यात्रुहरुले बेहोर्नुपरेको सास्तीमा भने कुनै कमी नआएको यात्रुहरुको गुनासो छ ।

यस क्षेत्रको व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।