म्याग्दीस्थित तातोपानीका मुहान संकटमा • Image Khabar Image Khabar


म्याग्दीस्थित तातोपानीका मुहान संकटमा


Imagekhabar
५ आश्विन २०७६, आईतवार १२:२३

म्याग्दीस्थित तातोपानीका मुहान संकटमा

म्याग्दी, असोज ५ । बिरामीहरुका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दीखोलाको चपेटामा परेको छ ।

हरेक वर्ष वर्षातको समयमा आउने खोलाको भलबाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड परेको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड छ ।

वर्षैपिच्छे वर्षातको समयमा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहानहरु पुरिने गरेका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यका अनुसार म्याग्दीखोलाको किनारमा रहेका दुईवटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ ।

उनले कुण्ड व्यवस्थापन समितिदेखि भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताए ।

तातोपानी कुण्डमा हाल दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामीहरुले स्नान गर्दै आइरहेका छन् । दैनिक झण्डै १५ जना नयाँ बिरामीहरु थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ । तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथ, युरिक एसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्