
टोकियो, असोज ५ । जापानमा रहेका नेपालीहरुले चौथो संविधान दिवस भव्यताका साथ मनाएका छन् । टोकियोमा विशेष कार्यक्रम आयोजना गरी नेपालीहरुले संविधान दिवस मनाएका हुन् ।
नेपाल चेम्बर अफ कमर्श टोकियो, विपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानको आयोजनामा संविधान दिवस कार्यक्रम आयोजना गरिएको थियो ।
जापानका पूर्व राजदूत कोजिमा मित्सुआकीले सन् १९९० को दशकमा तीन सय जनाको हाराहारीमा मात्र नेपालीहरु जापानमा बस्दै आएको चर्चा गर्दै हाल ९० हजारभन्दा बढी नेपाली जापानमा रहेको बताए । उनले नेपाली र जापानी नागरिकबीच आपसमा सुमधुर सम्बन्ध विकास हुँदै गएको बताए । नेपाल र जापानबीच सिधा हवाई सेवा विस्तारले पनि दुई देशका नागरिकबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने उनको भनाइ थियो ।
कार्यक्रममा ईमेज च्यानलका कार्यकारी निर्देशक रघुधर भक्त मानन्धर विशेष अतिथि थिए । उनले संविधान दिवसको महत्व प्रष्ट पार्दै विदेशमा आयोजना हुने यस्ता कार्यक्रमले छरिएर बसेका नेपालीहरुबीच आत्मीयता र अपनत्व बढाउने चर्चा गरे ।
कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष तथा मानवअधिकारकर्मी राजन प्रधानांगले संविधान, ऐन, कानुनमा भएका व्यवस्थामा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका डा. बलराम श्रेष्ठले संविधानको मर्म र भावनालाई सबैले आत्मसात गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्