राष्ट्रसंघको महासभामा नेपालले विकासका विषयलाई महत्वका साथ उठाउने • Image Khabar Image Khabar


राष्ट्रसंघको महासभामा नेपालले विकासका विषयलाई महत्वका साथ उठाउने


Imagekhabar
४ आश्विन २०७६, शनिबार १९:३४

राष्ट्रसंघको महासभामा नेपालले विकासका विषयलाई महत्वका साथ उठाउने

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असोज ४ । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा नेपाली प्रतिनिधिमन्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् ।

न्यूयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई महत्वका साथ उठाउने भएको छ ।

राष्ट्रसंघको महासभामा विभिन्न विषयमा बहुपक्षीय प्रयासबारे छलफल हुनेछ ।

नेपालले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी स्वास्थ्य सरोकार, अल्पविकसित मुलुकका मामिलालगायत विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

विकासका प्राथमिकता र साझा चासोका अन्तर्राष्ट्रिय मुद्दामा पनि नेपालले बहस गर्नेछ ।

यस वर्ष महासभामा बहसको विषय ‘गरिबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशीताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ ।

महासभाअन्तर्गत् हुने जलवायु परिवर्तन, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक बैठक तथा छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा नेपालले सहभागिता जनाउने छ ।

बैठकमा दिगो विकासका लागि लगानी, जलवायु परिवर्तन, बहुपक्षीय संगठनको सुदृढीकरण तथा नेपालले हासिल गरेका उपलब्धिलाई उठाउने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

महासभाको बैठककाक्रममा ‘सार्क’को अध्यक्षको हैसियतले नेपालले सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक वार्ता आयोजना गर्दैछ । जसमा सार्क राष्ट्रका विदेशमन्त्रीहरुको उपस्थिति रहने बताइएको छ ।

यो बैठकले लामो समयदेखि सम्मेलन नै हुन नसकेको सार्कको सक्रियता बढाउने र क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री ज्ञवालीको विश्वास छ ।

महासभा बैठकमा विकास, शान्ति तथा सुरक्षा, अन्तर्राष्ट्रिय कानुन, जलवायु परिवर्तनलगायतका विषयमा बहस हुनेछ । जसअन्र्तगत् विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख देशका प्राथमिकता सम्बोधन तथा तिनको प्रगतिकोसमेत समीक्षा हुनेछ ।

नेपाली प्रतिनिधिमन्डलमा परराष्ट्रमन्त्री ज्ञवालीसहित उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत रहनेछन् ।

गएको भदौ ३१ मा औपचारिक उद्घाटन भएसँगै सुरु भएको राष्ट्रसंघको महासभामा राष्ट्रसंघमा आबद्ध १९३ सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा प्रतिनिधिको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्