२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा’


0
Shares

काठमाडौं, असोज ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसनले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले आउँदो मंसिर १४ गतेको उपनिर्वाचनका लागि आयोगले तयारी अन्तिम चरणमा पुर्‍याइसकेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सम्पूर्ण दलहरुको सहमतिमै उपनिर्वाचनको मिति तोकिएकाले चुनाव सम्पन्न गर्न कुनै समस्या नरहेको दाबी गरे ।

दसैंमा तयारीमा केही सुस्तता आउनसक्ने भएपनि दसैंलगत्तै पुनः तीव्रताका साथ उपनिर्वाचनको तयारीमा जुट्ने उनको भनाइ थियो ।

शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ : गृहसचिव

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले उपनिर्वाचनमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुने बताए ।

फरक प्रसंगमा सचिव राईले मुलुकमा लागुपदार्थको दुर्व्यसनीको अवस्था डरलाग्दो रहेको बताए ।

नेपालमा लागुपदार्थ दुर्व्यसनीको संख्या ११ प्रतिशत रहेको जानकारी दिँदै उनले युवाहरु दुर्व्यसनीमा लाग्नु डरलाग्दो अवस्था रहेको बताए ।

गृहसचिव राईले प्रहरीको गाँजा फडानी अभियानमा जनप्रतिनिधिले अवरोध गरिरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

कार्यक्रममा पूर्वसचिव शारदाप्रसाद त्रितालले ९७ प्रतिशत सरकारी योजना पूरा नहुने गरेको भन्दै ठेकेदारको लापरबाहीलेमात्रै पनि ८० प्रतिशत योजना पूरा नहुने गरेको बताए ।

उनले सरकारी योजना सम्पन्न गर्नका लागि सबै पक्षको ध्यान जानु जरुरी रहेको धारणा राखे ।