
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण नियमित रहेको छ ।
लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हिजो दिनभर प्रभावित भएको विमानस्थल आज बिहानैबाट नियमित रुपमा सुचारु रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिक तथा बाह्य उडानका लागि चाहिने भिजिबिलिटी रहेकोले आज बिहान मौसमका कारण उडान तथा अवतरणमा कुनै समस्या नरहेको विमानस्थलले जनाएको छ ।
आज दिनभर मौसम बदलीकै अवस्थामा रहेपनि विमान उडान तथा अवतरण नै प्रभावित हुने गरी मौसम प्रतिकूल बन्ने सम्भावना कम रहेको मौसमविदको भनाई छ ।
खराब मौसमका कारण हिजो केही उडानहरु डाइभर्ट गर्नु परेको थियो भने अधिंकाश उडानहरु रद्द भएका थिए ।
भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ वुद्ध एअरका ३ र श्री एअरलाइन्सको एउटा उडान डाइभर्ट गरिएको थियो भने अन्तर्राष्ट्रियतर्फ एअर इण्डीगोको एउटा उडान डाईभर्ट गराइएको थियो ।
यस्तै कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गराइएको थियो ।
काठमाडौं विमानस्थलको भिजिबिलिटी ज्यादै कम भएपछि आठ वटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न नसकेर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्