२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण, सातओटा हेलिकोप्टर आकस्मिक अवतरण


0
Shares

काठमाडौं, भदौ ३१ । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढ घन्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुला गरिएको छ ।

‘भिजिबिलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुवैतर्फका उडान भने रोकिएको थिएन ।

डेढ घन्टापछि अवरुद्ध अवतरण सुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले राससलाई जानकारी दिए ।

अवतरण बन्द हुँदा भारतको नयाँदिल्लीबाट आएका नेपाल एअरलाइन्स र इन्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए ।

उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब ३०० आन्तरिक उडान–अवतरण हुँदै आएको छ ।

सात हेलिकोप्टर आकस्मिक अवतरण

यसैबीच, मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौंका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् ।

काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभे्रपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेलिकोप्टरमा सवार यात्री सकुशल छन् । ती यात्री अधिकांश विदेशी हुन् । रासस