
सर्लाही, भदौ ३० । सर्लाहीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
सोमबार प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रमकाबीच सर्लाहीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।
खुला दिसामुक्त जिल्ला घोषणासँगै सर्लाहीका सबै घरमा चर्पी निर्माण भएको दाबी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको छ ।
सर्लाहीमा कुल एक लाख ३५ हजार ३२० घरधुरी रहेका छन् ।
कार्यक्रममा मन्त्री सोनलसहितका अतिथिहरुले खुला दिसामुक्तलाई व्यवहारमै कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
शौचालयबाहिर शौच गर्दा हुने बेफाइदा नबुझेर जथाभावी शौच गर्ने र थाहा पाउँदासमेत अटेरी गरी शौचालयको प्रयोग नगरेकाहरुलाई शौचालयको नियमित प्रयोग गराउनुपर्नेमा वक्ताहरुको एक मत थियो ।
मलंगवासहित मुख्य बजार क्षेत्र र मानिसको धेरै भीडभाड हुने ठाउँहरुमा सार्वजनिक शौचालय नहुँदा जथाभावी शौच गर्ने गरिएको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा सहभागी नागरिक अगुवाहरुले जोड दिएका छन् ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्