
वासुदेव बर्मा
कपिलवस्तु, भदौ २९ । मुलुकभरमा बाल दिवस मनाईरहँदा कपिलवस्तुका सयौंै बालबालिका विभिन्न ठाउँमा मजदुरका रुपमा कामकाज गर्न बाध्य छन् ।
बाल दिवसका अवसरमा बाल अधिकारका ठूला ठूला नारा र भाषण घन्किरहँदा सदरमुकाम तौलिहवासहित जिल्लाका विभिन्न होटल तथा पसलहरुमा बालबालिकाहरु जुठो भाडा सफा गर्न र मजदुरी गर्न व्यस्त देखिन्छन् ।
यस्ता बालबालिकामाथि न त राज्यको आँखा पर्न सकेको छ, न यिनीहरुलाई बाल दिवसका बिषयमा कुनै पत्तो नै छ । बाल अधिकारबाट बञ्चित बनेका यी बालमजदुरहरु गरिबीका कारण यसरी होटलहरुमा कामकाज गर्न बाध्य छन् । दैनिक दुईसय पचास रुपैयाँ ज्यालामा बालबालिकाहरु होटलमा मजदुरी गरिरहेका छन् ।
गरिबी र संरक्षण अभावका कारण यस्ता बालबालिकाहरु विद्यालय जान त टाढाका कुरा, सामान्य शिक्षाबाट समेत बञ्चित बनेका छन् । सरकारले लिएको सन् २०१५ सम्ममा सबैका लागि शिक्षा भन्ने लक्ष्यलाई समेत यी अवोध बाल मजदुरहरुले चुनौती दिईरहेका छन् ।
विद्यालय पोशाकमा किताब कलमसहितको झोला बोकेर विद्यालय जानुपर्ने बालबालिका जुठो भाडा माझ्दै होटल तथा अन्य ठाउँमा मजदुरको रुपमा आफ्नो भविष्य कोर्दै छन् । बाल मजदुर सामाजिक अपराध हो भन्ने थाहा भए पनि पसल संचालकहरुले बाल मजदुरहरुबाट काम गराईरहेका छन् ।
सन् १९९० मा नेपालले बाल अधिकार सम्वन्धी महासन्धीमा हस्ताक्षर गरी बाल अधिकार संरक्षणको ग्यारेन्टी गरेको थियो । तर त्यो सम्झौता खाली कगजमामात्र सीमित बनेको छ ।
कपिलवस्तुका यी र यस्ता बालबालिकाहरु त प्रतिनिधी पात्रमात्रै हु्न् । बाल दिवस र बाल अधिकारका बारेमा कुनै जानकारी नपाएका लाखौं बालबालिका मुलुकभर विभिन्न खालका श्रम गर्दै जीवन निर्वाह गरिरहेका छन् । बालश्रम, बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानका लागि सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनाहरु अघि सारे पनि त्यस्ता कार्यक्रमले मुलुकभरका यस्ता बालबालिकाहरुलाई भने छुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्