डिबी विष्ट/ईमेज
बझाङ । बझाङको साइपाल गाउँपालिकामा झोलुङ्गे पुल नहुँदा स्थानीयले ठूलो सास्ती बेहोर्नुपरेको छ ।
गाउँपालिकामा रहेका विभिन्न खोलामा पुल नहुँदा अकालमा धेरैले ज्यान गुमाइसकेका छन् । बझाङ जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाका सबै खोलामा झोलुंगे पुल बनेको छैन ।
गाउँपालिकामा रहेका रामु खोला, श्यामु खोला, लोकुन्ते खोला, थरुनीघाटलगायतका दर्जन बढी खोलामा पुल नहुँदा ओहोरदोहोर गर्न कष्टकर मात्रै भएको छैन वर्षेनी कैयौँले अकालमा ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था छ ।
सबैभन्दा बढी समस्या दैनिक विद्यालय जानुपर्ने बालबालिका र बिरामीलाई हुने गरेको छ ।
विद्यालय जाँदा, जटीबुटी संकलन गर्न जाँदा तथा आफन्तकोमा आउजाउ गर्दा खोलाले कैयाँ बालबालिका बेपत्ता भएको केही वर्षअघि भाइ गुमाएका स्थानीय बसन्त बोहराको गुनासो छ ।
झोलुङपुल भइदिएको भए ओहोरदोहोर गर्न सहज हुने स्थानीयले बताउँदै आएका छन् । स्थानीय मात्र होइन साइपाल गाउँपालिकामा पुग्नेहरुलाइ पनि यात्रा निकै कष्टकर हुने गरेको बताउँछन् ।
सदरमुकाम चैनपुरबाट ३ दिनको पैदल यात्रा गरी साइपाल पुगेका टोटीका टेक बोहरा पुल नहुँदा ज्यानको बाजी थापेर खोला तर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
स्थानीय सरकार आइसकेपछि थरुनी घाट रामुखोलामा झोलुंगे पुलका लागि डिटेल सर्बेमा राखिएको छ ।
गाउँपालिकाको रमकमले मात्र पुल निर्माण गर्न नसकिने भएकाले प्रदेश र केन्द्र सरकारले पनि यसमा सहयोग गर्नुपर्ने साइपाल गाउँपालकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ छ ।
सदरमुकाम चैनपुरबाट निकै टाढा रहेको साईपाल गाँउपालिकामा निर्माण सामाग्रीहरु ढुवानी गर्न पनि निकै समस्या हुने भएकाले विकास गर्न पनि चुनौती भएको अध्यक्ष धामी बताउँछन् ।
साइपाल गाउँपालिकावासीले भोग्नुपरेको सास्ती र जोखिमप्रति प्रदेश र केन्द्र सरकारले अझ बढी चासो दिनुपर्ने स्थानीयको माग छ ।









प्रतिक्रिया दिनुहोस्