२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


कस्तो छ बालमन्दिरको अवस्था ? (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २७ । जसको सुरक्षा र संरक्षणका लागि भन्दै संस्था खोलिएको हुन्छ, त्यही संस्था हाँक्ने व्यक्ति नै मानव बेचविखनजस्तो गम्भीर आरोपमा पक्राउ परेपछि स्वाभाविकरुपमा मानिसको धारणा त्यसप्रति फेरिन्छ ।

फेरि पनि अनाथ बालबालिकाको संरक्षणमा आफूहरु दत्तचित्त भएर लागेको नेपाल बाल संगठनले जनाएको छ ।

बाल संगठनका प्रमुख बालकृष्ण डंगोल मानव बेचविखनको अभियोगमा पक्राउ परेपछि बाल संगठनलाई हेर्ने दृष्टिकोणमा आम नेपालीको धारणा केही हदसम्म परिवर्तन भएको थियो ।

इमेज च्यानलले बाल संगठन र त्यहाँ आश्रित बालबालिका र अन्य बालगृहमा भएका विभिन्न घटनाबारे लगातार समाचार सम्प्रेषण गर्दै आएको थियो ।

बाल संगठनका प्रमुख डंगोल पक्राउ परेपछि हाम्रो टोली त्यहाँको पछिल्लो अवस्था बुझ्न जाँदा भेटिए, विजय तामाङ ।

पुर्ख्योली घर धादिङ भइ हाल थिमिमा बस्दै आएका ९ वर्षीय विजय यही भदौ १६ गते बालमन्दिरको शरणमा आइपुगेका हुन् ।

विजयमात्र होइन, उनीसँगै सहोदर भाइ तीन वर्षीय सागर तामाङ पनि आइपुगेका छन्, बाल संगठनमा ।

आफ्नै अभिभावकले लत्याएपछि सहाराविहीन भएका यी दुई दाजुभाइलाई बालबालिका खोजतलास समन्वय केन्द्रले संगठनको जिम्मा लगाएको हो ।

उनीहरुसँगै आइपुगेका छन्, सडकमा बेवारिसे अवस्थामा भेटिएका दुईजना दुई वर्षीय बालकहरु पनि ।

असहाय, अनाथ अनि अभिभावकविहीनमात्र नभइ सडकपेटीमा होस् वा जन्मदै अस्पतालमा बेवारिसेरुपमा छोडिएका बालबालिकालाई पनि बाल संगठनले संरक्षण दिँदै आएको छ ।

२०२१ सालदेखि सन्चालनमा रहेको यो बालमन्दिर अहिले भौतिकरुपमा निकै जीर्ण अवस्थामा पुगेको छ ।

२०७२ सालको भूकम्पले थिलथिलो बनाएको बालमन्दिरको पुनःनिर्माणमा अहिलेसम्म सरकारले कुनै जाँगर देखाएको छैन । त्यसैले त लथालिंग छ, जताततै ।

यहाँ शरण लिन पुगेका बालबालिकाको स्वास्थ्य, शिक्षा र गाँस–बासको उचित व्यवस्थापन हुन सकेको छैन ।

डंगोल मानव तस्करको आरोपमा थुनामा परेपछि अहिले संगठनमा निमित्त प्रमुखको जिम्मेवारी निरज भण्डारीले सम्हाल्दै आएका छन् ।

उनले संगठनका प्रमुख पक्राउ परे पनि बालसंगठन पहिलेजस्तै बालबालिकाको सेवामा खटिइरहेको जानकारी दिए ।

बाबु–आमाको न्यानो मायाबाट बञ्चित बालबालिको सम्पूर्ण रेखदेखको जिम्मा सरकारले लिनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन ।

पछिल्लो समय विभिन्न बालगृहमा देखिएको विकृति र विसंगतिले अविभावकविहीन बालबालिकाहरुले निकै कस्टपूर्ण जीवन भोगिरहेको प्रस्ट पारेको छ । यसमा सरोकारवालाहरुको ध्यान पुग्न जरुरी छ ।

भिडियो हेर्नुहोस्