
काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले आफ्नो पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै सरकारले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा शनिबार बिहान गृहमन्त्रीलाई जिल्ला सभापतिहरुले ज्ञापनपत्र बुझाउने, अपराह्न माइतीघर मन्डलामा प्रदर्शन गर्ने जानकारी दिए ।
प्रवक्ता शर्माले जिल्ला सभापति एवं ७० वर्षीया नेत्री कोइरालामाथि भएको आक्रमणले सत्तारुढ दल नेकपाका व्यक्तिहरुको मानसिकता उजागर गरेको टिप्पणी गरे ।
‘सत्तारुढ दल आत्तिएर आक्रमणमा’
उनले पार्टीको जागरण अभियानमा भाषण चलिरहँदा आक्रमण भएको र प्रहरीसमेत मुकदर्शक बनेको भन्दै यसको विरोधमा कांग्रेसले सांकेतिकरुपमा विरोध थालेकोसमेत बताए ।
नेकपाको गढ मानिएको ठाउँबाट कांग्रेस प्रवेशको लहर चल्दा सत्तारुढ दल आत्तिएर आक्रमणमा उत्रिएको उनको दाबी छ ।
प्रतिकारको चेतावनी
पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका सभापतिहरु सबुज बानियाँ, दुर्लभ थापा र मदन अमात्यले नेकपा कार्यकर्ताले आफ्नो व्यवहार नसुधारे प्रतिकार गर्ने चेतावनी दिए ।
त्यस्तै, कांग्रेसले जागरण अभियानकाक्रममा डेंगी रोगप्रतिको सर्तकता र सावधानीको विषयमासमेत अभियान चलाउन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्