२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


इन्द्रजात्रा पर्व सन्चालनका लागि पाँच करोडको अक्षयकोष स्थापना


0
Shares

काठमाडौं, भदौ २६ । सरकारले इन्द्रजात्रा पर्व सन्चालन गर्नका लागि पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने सरकारको निर्णयअनुसार कोष स्थापना गरेको बताए ।

उनले गुठीबारे विगतमा केही असमझदारी भएपनि अब अक्षयकोष स्थापनाबाट ती सबै समाधान हुने विश्वास व्यक्त गरे ।

कोषमा केन्द्र सरकारले एक करोड ५० लाख, प्रदेश नम्बर–३ सरकारले एक करोड, काठमाडौं महानगरपालिकाले दुई करोड र गुठी संस्थानले ५० लाख रुपैयाँ रकम जम्मा गरेका छन् ।

कोष सन्चालनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रदेश सरकारका प्रतिनिधि, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष, गुठी संस्थानका प्रतिनिधि र हनुमानढोका हेरचाह अडडका प्रमुख रहनेछन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अक्षयकोषले जात्रा सन्चालनमा देखिएका अवरोध हटाउन सहयोग पुग्ने दाबी गरे ।