
टोकियो, भदौ २५ । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् ।
लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।
पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरणमन्त्रीकारुपमा नियुक्त गरिएको छ ।
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषद्मा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनी राजनीतिको वरिष्ठताक्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुन् ।
आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने प्रधानमन्त्री बन्नेछन् ।
तर, उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ ।
यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त भएका छन् ।
उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामकारुपमा पदोन्नति गरेको बताइएको छ ।
निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।
कोनो सामाजिक सन्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्नछन् । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कूटनीतिमा निकै अनुभवी मानिन्छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्